बज्जिका भाषामा सञ्चारमाध्यम

नेपालमा विशेषगरी तराईका पाँच जिल्लामा बज्जिका भाषा प्रचलनमा छ। भारतबाट उत्पत्ति भएको बज्जिका भाषा त्यहाँको वैशाली राज्यबाट सुरु भएको हो। बौद्ध ग्रन्थ अंगुत्तर निकाय र जैन ग्रन्थ भगवती सूत्रमा उल्लेख भएअनुसार तत्कालीन भारत वर्षमा रहेका १८ गणराज्यमध्ये बज्जी संघको राजधानी वैशाली थियो (बज्जिका भाषाको इतिहास, पृ. ३६)। बज्जिका यसै बज्जी संघको आधुनिक भाषा थियो। बज्जिका मातृभाषा हो। बज्जिका शब्दको निर्माण बज्जी आधार पदमा ‘क’ प्रत्यय संयुक्त भई ‘आ’ स्त्रीसूचक प्रत्यय लागेर बनेको हो।

बज्जिकालाई बज्जिवासिना भाषा बज्जी भाषा पनि भनिएको पाइन्छ। बज्जीलाई वृजी पनि भन्ने गरिएको छ। पाणिनिले मद्रवृज्योः कन् अष्टाध्ययी सूत्रमा मद्रक र वृजिक शब्दहरूको निर्माण निवासीहरूको अर्थमा गरेका छन् भनी डा. योगेन्द्रप्रसाद सिंहको बज्जिको कतिपय शब्दका आलोचनात्मक अनुशीलन पुस्तकको पृष्ठ गमा उल्लेख गरिएको छ। वृणिकबाट बजिक, बज्जिकबाट बज्जिक तथा उनीहरूको भाषा स्त्रीप्रत्यय आको साथ बज्जिका भएको हो। बज्जी संघ क्षेत्रको निवासीलाई बज्जिका भन्न सकिन्छ। बज्जिका शब्दको अर्थ हुन्छ– बज्जी क्षेत्र (प्रदेश)का बासिन्दाद्वारा बोलिने भाषा।

प्राचीन अर्थशास्त्री कौटिल्यको साहित्यमा बृजि शब्दको उपयोग यस क्षेत्रको बासिन्दाको अर्थमा गरिएको पाइन्छ। प्राचीन बज्जी संघको भाषा भएको कारण यसलाई वृजिका, बज्जिका, वज्जिका, बाजिका, बज्जी भन्ने गरिएको छ। यसको लिपि तिरहुतिया कैथी भएको हुनाले कतिपयले यसैलाई तिरहुतिया भाषासमेत भन्ने गरेका छन्। बज्जी संघको केन्द्र वैशालीमा भएकाले यसलाई वैशाली भाषा, वैशालिनी, वैशालीको भाषा पनि भनिएको पाइन्छ।

बज्जिका भाषाका अनुसन्धानकर्ता तथा वरिष्ठ पत्रकार सञ्जय साह मित्र बज्जिका भाषाको नामकरणको सम्बन्धमा अनेक मत छन्। तर पनि यसको मुख्य श्रेय महापण्डित राहुल सांकृत्यायनलाई जाने बताउँछन्। सांकृत्यायनले गरेको बज्जिका नामकरण नै हालसम्म सर्वमान्य छ। बज्जिका भाषाको इतिहास करिब अढाई हजार वर्षभन्दा पुरानो रहेको पाइन्छ। तैपनि यसको पहिचान र नामकरण निकै पछि हुन गएको देखिन्छ। नेपालमा पनि प्रा.डा. दानराज रेग्मी, डा. बलराम प्रसाईँ र डा. अम्बिका रेग्मीसहितको टोलीले त्रिभुवन विश्वविद्यालय, भाषाविज्ञान केन्द्रीय विभागको तर्फबाट गरिएको ‘अ सोसिओलिंगुइस्टिक सर्भे अफ बज्जिका, २०१४ जुलाई’ले बज्जिकालाई स्वतन्त्र भाषाको रूपमा मान्यता दिएको छ। सर्वप्रथम सञ्जयकुमार साह मित्रले काठमाडौंबाट प्रकाशित महिमा साप्ताहिक (२०५२ कात्तिक ३०)मा ‘लोप हुँदै गएको भाषा–बाजिका’ शीर्षकमा लेख प्रकाशित गरेका थिए। अहिलेसम्म नेपालमा बज्जिका भाषाको विषयमा जानकारी दिने पहिलो लेख यही हो। नेपालमा बज्जिका भाषाको जनजागरण वा चेतनाको विकासको यात्रा यही बिन्दुबाट प्रारम्भ भएको पाइन्छ।

नेपालको धनुषा, सर्लाही, महोत्तरी, बारा र रौतहटमा बज्जिका भाषा बोल्ने गरिएको छ। भारतमा बज्जिका भाषाभाषी क्षेत्र भनेर परिचित जिल्लाहरूसित नेपालका यिनै जिल्लाको सिमाना जोडिएका छन्। मध्य महोत्तरीदेखि मध्य बारासम्मको मधेसी समुदायको मूल मातृभाषा बज्जिका हो भन्ने दाबी यसका अभियन्ताको छ। नेपालमा बज्जिका मातृभाषीको संख्या करिब २५ लाख रहेको बताइए पनि तथ्यांकको दृष्टिकोणले बज्जिकाको अवस्था फरक देखिन्छ। २०५८ को जनगणनामा पहिलोचोटि समावेश भएको बज्जिका भाषाको वक्ता संख्या २ लाख ३७ हजार ९ सय ५७ देखिएको छ। देशको कुल जनसंख्यामा १.०५ प्रतिशतले मातृभाषा बज्जिका बोल्ने गरेको तथ्यांकमा आएको थियो। २०६८ को राष्ट्रिय जनगणनामा बज्जिका मातृभाषीको कुल संख्या ७ लाख ९३ हजार ४ सय १६ देखिएको छ। जुन देशको सम्पूर्ण जनसंख्यामा २.९९ प्रतिशत हुन आउँछ।

बज्जिकाको विकास र विस्तारमा सञ्चारमाध्यमको भूमिका अहम् छ। बज्जिका भाषा नेपालमा जसरी विस्तृत हुँदै गइरहेको छ, त्यसमा आमसञ्चारले महत्त्वपूर्ण प्रभाव पारेको कुरा अभियन्ता स्वीकार्छन्। बज्जिका भाषा बचाउने अभियानमा काम गरिरहेकाहरूले सञ्चारमाध्यमलाई सकारात्मक प्रयोग गरिरहेका छन्। मधेस प्रदेशमा रौतहटबाट बज्जिका भाषामा सबैभन्दा धेरै सञ्चारमाध्यम सञ्चालनमा छन्। यहाँको रेडियोले बज्जिका भाषामा समाचार बुलेटिन नै चलाएको छ। टेलिभिजनले पनि यो भाषा(लाई महत्त्व दिएको छ। बज्जिकामा दिनेश यादवले अनलाइन सञ्चारमाध्यम पनि सञ्चालन गरिरहेका छन्। सोही भाषामा कार्यक्रम र समाचार आउने भएपछि प्रयोगकर्तालाई मोह जाग्न थालेको छ। बज्जिका पत्रकार समाज क्रियाशील छ भने पाक्षिक र साप्ताहिक पत्रिकाहरू पनि बज्जिका भाषामा प्रकाशित भइरहेका छन्।

बज्जिका भाषाका लेखक तथा अभियन्ता किशुल दयाल श्रीकृष्ण सञ्चारमाध्यमले बज्जिका भाषाको विस्तारमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउँछन्। यहाँ यही भाषामा विभिन्न साहित्यिक कृति पनि प्रकाशन भइरहेका छन्। गोरखापत्र दैनिकले बज्जिका भाषालाई छुट्टै पृष्ठ उपलब्ध गराएको छ। सञ्जय साह मित्रले यसको पृष्ठ संयोजकको रूपमा काम गरिरहेका छन्। वीरगन्जबाट प्रकाशित हुने प्रतीक दैनिकले पनि यही भाषाको विषयवस्तुलाई प्राथमिकता दिएर प्रकाशित गरिरहेको छ। हेटौंडाबाट प्रकाशित कुराकानी साप्ताहिकले पनि योगदान पुर्‍याएको छ। रौतहटबाट प्रकाशित रौतहट रश्मि त्रैमासिक पत्रिकाले पनि बज्जिका विस्तारमा योगदान पुर्‍याएको छ। शीतलपुर साप्ताहिक, बज्जिकावाणी साप्ताहिक, बज्जिका प्रभात खबर साप्ताहिक, बज्जीपत्र साप्ताहिक, भागजोगनी मासिक, हमनी के आवाज मासिक, वालबज्जी द्वैमासिक र बज्जिकार्पण त्रैमासिक पत्रिकाले पनि बज्जिका भाषाको विस्तारमा योगदान दिएका छन्।

बज्जिका भाषामा केही वर्षअघिसम्म यी जिल्लामा खासै रौनक थिएन। तर, जब बज्जिका भाषामा सञ्चारमाध्यम चल्न थाले त्यसपछि विस्तार यो भाषाको पनि विस्तार हुँदै गयो। बज्जिकाका लेखक सञ्जय सुदामा नेपालमा गणतन्त्रको स्थापना भएपछि विस्तार भएका सञ्चारमाध्यमका कारण बज्जिका विस्तार भएको बताउँछन्। साहित्यको विस्तारका लागि काम गरिरहेका बज्जिका साहित्य संगमका अध्यक्ष किसुन दयाल श्रीकृष्ण पनि यो भाषाको विकासमा सञ्चारमाध्यमको भूमिका प्रभावकारी रहेको बताउँछन्। अब यो तराईका पाँच जिल्लामा मात्र बोलिँदैन। देशका प्रायः सबै जिल्लामा धेरथोर संख्यामा बज्जिका बोल्नेको संख्या रहेको जनगणनाको तथ्यांकले पुष्टि गरेको छ। सञ्चारमाध्यमको प्रभावले भाषाविज्ञ र सरोकारवालाको ध्यान आकर्षित भएको पाइन्छ। भाषाविज्ञले बज्जिकामाथि अनेकन अध्ययन, अनुसन्धान गरी जीवन्त बनाउँदैछन्।

Source: Annapurna Post National Daily

https://www.annapurnapost.com/news/media-in-bajji-language-201739

Leave a Reply

Your email address will not be published. Required fields are marked *